जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको कोलकत्तासम्म पानीजहाज पुयाउने योजना रहेको बताएका छन् ।
प्रदेश २ को प्रदेशसभामा उहाँले सप्तरीको हनुमाननगरबाट कोलकातासम्म पानी जहाज चलाएर देखाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार संविधान संशोधन हुने पनि बताउनुभएको छ ।
‘संविधान, कानून हामीले बनाको हो । कहीँ कतै हेरफेर र विकास गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले धर्मशास्त्र बनाएको होइन । संविधान, कानून गतिशील हुनुपर्छ । यसले हामीलाई आज पनि बाटो देखाउनुपर्छ र भोलि पनि बाटो देखाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकाले यो समयानुकूल परिमार्जन भइरहने बताउनुभयो । ‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज पुयाउने भनेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश २ बाटै कोलकत्तासम्म पानीजहाज कुद्छ ।
उहाँले प्रदेश २ भाग्यमानी रहेको पनि बताए । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उहाँले अब पानीको बाटोबाट पनि आवागमन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘देश र जनताको आवश्यकताअनुसार चाहिएका बेला संशोधन हुन्छ ।’
प्रधानमन्त्रीले थप्नुभयो – ‘विभेद कहीँ छ भने मलाई भन्नुस्, संशोधन हुन्छ । प्रस्ताव लाने काम संघीय सरकारको हो । संघीय संसदले संविधान संशोधन गर्छ ।’
‘यस प्रदेशको विकासका लागि संघीय सरकार र म एकदमै चिन्तित छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ विकासको असाधारण सम्भावना छ ।’
प्रदेश २ मा अत्यन्तै उर्वर जमिन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई मरभूमिकरण हुनबाट बचाउन सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस