फ्रिकिक गोलमा अर्जेन्टिनालाई जिताउँदै मेस्सीले गरे बेकहम्याम र स्वारेजको कीर्तिमानसँग बराबरी

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १३ : ५८
फ्रिकिक गोलमा अर्जेन्टिनालाई जिताउँदै मेस्सीले गरे बेकहम्याम र स्वारेजको कीर्तिमानसँग बराबरी

काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलगसँगै अर्जेन्टिनाले विश्वकप छनोट फुटबलको शुक्रबार सम्पन्न खेलमा इक्वाडरलाई १—० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत निणर्ायक गोल गरेका थिए । जितसँगै अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अर्जेन्टिना विश्वकप फुटबलको साविक विजेता राष्ट्र हो । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा आयोजित कतार विश्वकपको उपाधि चुमेको थियो । इक्वाडरविरुद्घको खेलमा मेस्सीले अर्जेन्टिनालाई त जिताए नै, सँगसँगै विश्व फुटबलको दुईवटा कीर्तिमानसँग बराबरी पनि गरेका छन् । उनले फ्रिकिकमार्फत सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा डेभिड बेकह्यामको बराबरी गरेका हुन् ।

आफ्नो समयका चर्चित खेलाडी बेकह्यामले ६५ वटा गोल गरेका थिए । इङ्ल्यान्डका पूर्वकप्तान बेकह्याम सक्रिय खेलजीवनमा फ्रिकिक प्रहारकै लागि चर्चित थिए । इक्वाडरविरुद्घको खेलपछि मेस्सीले उनकै कीर्तिमानसँग बराबरी गरेका हुन् । मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा फ्रिकिकमार्फत गरेको गोल सँख्या पनि ६५ पुगेको छ । रमाइलो संयोग त के हो भने, अहिले मेसी बेकह्यामकै क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेल्छन् । बेकह्यामले नै मेस्सीलाई मेजर लिग सकर (एमएलएस) खेलाउन अमेरिका लगेका हुन् । एमएलएसमा मेस्सीको प्रवेशपछि अमेरिकीमा फुटबलको छुट्टै ‘क्रेज’ सुरु भएको छ । मेसीले अमेरिकी फुटबलमा पनि आफ्नो फ्रिकिकको जादु देखाइसकेका छन् ।

उनले लिग्स कपको एफसी डालासविरुद्घको खेलमा ८५औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । लिग्स कपको उपाधि इन्टर मियामीले जितिसकेको छ । विश्व फुटबलमा मेस्सीभन्दा बढी फ्रिकिकमार्फत गोल गर्ने खेलाडी चारजना मात्र छन् । तर, मेस्सीभन्दा अगाडि रहेका सबै खेलाडीले सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । त्यसैले वर्तमान विश्व फुटबलमा फ्रिककमार्फत सर्वाधिक गोल गर्ने सक्रिय खेलाडी मेस्सी नै हुन् । मेस्सीभन्दा अगाडि रहेका भिक्टर रेग्रोटाग्ली र रोनाल्डिन्होले फ्रिकिकमार्फत ६६—६६ गोल गरेका छन् । महान ब्राजिलियन फुटबलर पेलेले आफ्नो सक्रिय खेलजीवनमा फ्रिकिकमार्फत ७० वटा गोल गरेका थिए । यसका अतिरिक्त फ्रिकिकमार्फत सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका जुनिन्हो पेरनमबुकानोले ७७ गोल गरेका थिए । यसैगरी मेस्सीले इक्वेडरविरुद्घको खेलमा अर्को कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

दक्षिण अमेरिकी क्षेत्रीको विश्वकप छनोट फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा मेस्सीले लुइस स्वारेजको कीर्तिमानको बराबरी गरेका हुन् । उरुग्वेका खेलाडी स्वारेजले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा कुल २९ गोल गर्दै कीर्तिमान बनाएका थिए । मेस्सीले सोही कीर्तिमानको बराबरी गरे । इक्वाडरविरुद्घको खेलमा मेस्सीले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा गरेको २९औं गोल थियो । विश्वकप छनोटमा अब आगामी साता अर्जेन्टिनाले बोलिभियाको सामना गर्दैछ । उक्त खेलमा गोल गरे भने मेस्सीले स्वारेजको कीर्तिमान भंग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस