महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, २० : ०८
महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

बिहीबार काठमाडौं जिल्ला अदालतले नुवाकोट घर भई काठमाडौँको बालाजु बस्ने सापकोटालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

प्रहरीले सापकोटाविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ।  बुधबार दिउँसो काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा सात्क्षात्कार कार्यक्रममा सहमहामन्त्री यादव सहभागी भएका थिए। त्यही कार्यक्रममा सापकोटा पनि सहभागी थिए। कार्यक्रम सकेर फर्किँदा यादवलाई पछ्याएर सापकोटाले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। 

खुकुरी प्रहारबाट यादवको टाउको र गर्धनमा चोट लागेको छ। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई आइसियुमा राखेर उपचार गराइएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका सापकोटा पहिले पनि पक्राउ परिसकेको खुलेको हो। उनीविरूद्ध २०७८ सालमा दुई वटा अभद्र व्यवहारको मुद्दा चलेको थियो।

प्रतिक्रिया दिनुहोस