‘नाङ्गो गाउँ’ राजनीतिक उथलपुथलको कथा हो: दयाहाङ राई

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, १३ : २७
‘नाङ्गो गाउँ’ राजनीतिक उथलपुथलको कथा हो: दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’ राजनीतिले उथलपुथलको कथामा निर्माण भएको बताएका छन् । उनले पछिल्लो समय फिल्ममा देखिएको राजनीतिक कथा भन्दा यसको कथा धेरै फरक रहेको राईको दाबी छ ।

‘हरेक राजनीतिक फिल्ममा नेता ठिक भएन भनेर देखाउँछन् । तर हामीले खराब नेता छान्ने जनता कति सही ? भनेर प्रश्न फिल्ममा गरेका छौँ,’ दयाहाङले भने ।‘कबड्डी ३’, ‘दिमाग खराब’, ‘नाङ्गो गाउँ’ दयाहाङका राजनीतिक पृष्ठभूमिमा बनेका फिल्म हुन् । तर सबैको कथा र वाचन शैली भने भिन्न रहेको उनी बताउँछन् । ‘कबड्डी ३’ काजी र मैयाँको कथा थियो । ‘नाङ्गो गाउँ’मा गाउँलेको कथा छ । ‘दिमाग खराब’ पनि बेग्लै कथामा बनेको फिल्म भएको उनले बताए ।

 

अहिले गाउँ पातलो हुँदै गएको छ । यसरी गाउँ पातलो हुँदै जानु उनी पुँजीवादको अतिक्रमण मान्छन् । भन्छन्, ‘मलाई पनि गाउँमा बस्ने रहर थियो । विभिन्न कारणले गर्दा यहाँ आए’,उनले थपे ‘अहिले त्यहाँ गएर बस्न सक्दिनँ ।’

‘नाङ्गो गाउँ’ पनि दयाहाङको अभिनेत्री मिरुनासँग रोमान्स छ । ‘कबड्डी ४’बाट सुरु भएको दयाहाङ र मिरुनाको जोडी ‘जारी’ हुँदै अहिले ‘नाङ्गो गाउँ’सम्म आएको छ । एकपछि अर्को सफल फिल्म दिँदै अगाडि बढेका यी दुईले ‘रंगेली’ र ‘घरज्वाइँ’मा समेत सँगै काम गर्दैछन् । मिरुनासँगको एकपछि अर्को फिल्मको सहकार्य संयोग मात्र भएको उनी बताउँछन् ।

‘नाङ्गो गाउँ’ अगामी २९ भदौबाट देशभर सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्ममा दयाहाङको अलावा मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।लेखन समेत निर्देशक दीपेन्द्रको रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस