मध्यविन्दु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी काँग्रेसले नबोक्ने उनले बताए ।
नेपाली काँग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तर्क्रियामा नेता महरले भने-“सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । काँग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।”
सामाजिक रूपान्तरणका लागि मुलुकमा काँग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेता महरले भने- “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा काँग्रेसको अहम भूमिका छ ।” पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेलगायतले पनि आ-आफ्नो धारणा राखे थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, २० : ४७
लेखकबाट थप