समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलन बचाउन भूमिका खेल्छ : माधव नेपाल

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १५ : ३९
समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलन बचाउन भूमिका खेल्छ : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताएका छन् ।समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै  उनले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भएपनि मोर्चाको आवश्यक भएको बताए । 

 

समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको भन्दै अध्यक्ष नेपालले  सरकार कुनै हालतमा नढल्ने दाबी गरे । कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको उनले बताए । उनले भने, मोर्चा बन्दा कांग्रेसलई चिसो बस्यो कि भन्ने आंकलनहरु भइरहेका छन्, त्यो गलत हो बरु वर्तमान सरकार बचाउनका लागि भूमिका निर्वाह गर्ने भएकाले तातो पसेको छ ।

अध्यक्ष नेपालले एकतामा शक्ति मिल्ने र शक्तिमा तागत हुने भएकाले समाजवादी शक्तिहरु एक ठाउँमा आएको बताए । अध्यक्ष नेपालले नेपाली विशेषताको समाजवाद निर्माणमा मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान सरकारले जनताको पक्षमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ । 

अध्यक्ष नेपालले एमसीसी संविधानमाथि नहुने भनेपछि आफूहरुले सहमति जनाएको बताए ।तर अनुचित सम्झौता स्वीकार्य हुने नसक्ने उनको भनाइ छ । अध्यक्ष नेपालले समाजवादी मोर्चा जनताको पक्ष र जनतालाई सुखी बनाउनका लागि बनाइएको बताए । मोर्चामा रहेका दल र नेताहरुबीच एक आपसमा समझदारी हुनुपर्ने भन्दै उनले त्यो पालिकादेखिनै हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस