सरकारबारे धारणा बनाउन विप्लवले बोलाए स्थायी समिति बैठक

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १२ : १०
सरकारबारे धारणा बनाउन विप्लवले बोलाए स्थायी समिति बैठक

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । 

 

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ । 

‘शुक्रबार बस्ने बैठकले एमसीसी कार्यान्वयन, विरोधका थप कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण लगायत विषयमा आधिकारिक धारणा बनाउनेछ’, नेता विरहीले भने ।  

महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए । 

सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो । नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ । सरकारसँग असन्तुष्टि जनाए पनि तत्काल समाजवादी मोर्चाबाट अलग नहुने विरहीले बताए ।

प्रतिक्रिया दिनुहोस