काठमाडौ । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ।
चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भन्ने गरिएको हो।
सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको छ।
पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ। आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन्।
रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन्। पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी) को भिड नै देखिएको छ।
राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन्।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन्। मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन्।
अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन्। ससाना नानीहरुका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन्।
मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन्। मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषि र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्रमुख दिलिप तिवारी बताउछन्।
सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ।
मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै मिथिलामा यो पर्वको तयारी देखिने गरेको छ। पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा आज राखीपर्व मनाइँदै