मेरो सम्झनामा दिवंगत कृष्णबन्धु पिया

सूर्यप्रकाश कँडेल

बुधबार, ३० साउन २०७५, १५ : ०८
मेरो सम्झनामा दिवंगत कृष्णबन्धु पिया

चितवन । २०१६ साल माघ महिनामा श्रीपञ्चमीको दिन स्थापना भएको तत्कालीन व्यापार संघ नारायणगढ (हाल : उद्योग वाणिज्य संघ चितवन) को संस्थापक सचिव नारायणगढ निवासी कृष्णबन्धु पिया अब हामीबीच रहेनन् । उनको असामयिक निधन भएको आज ४५ औं दिनको पुण्यतिथिमा संघले विशेष कार्यक्रम गर्दैछ । संघका ११ जना संस्थापकमध्ये अब संस्थापक सदस्यद्वय वसन्तलाल चुके र दानबहादुर श्रेष्ठमात्र जीवित छन् । 

सात महिनाअघि गत पुस २८ गते उवा संघ चितवनको ५१ औँ साधारणसभा तथा अधिवेशनको सन्दर्भमा संस्थापक सचिव पियासँग भलाकुसारी गर्ने अवसर पाएको थिएँ । नारायणगढको मेनरोडमा रहेको पिया प्लाष्टिक उद्योगको शोरुममा रहेको आफ्नै कार्यकक्षमा एक घण्टा लामो कुराकानीमा ८२ वर्षे पियाले त्यतिबेला पनि संघप्रति चिन्ता प्रकट गरेका थिए । संघले सक्षम नेतृत्व पाओस् भन्ने उनको चिन्ता थियो । उनले चाहेजस्तै नेतृत्व संघले पाएको मैले महसुस गरेको छु । त्यसपछि संघको अधिवेशन उद्घाटन समारोहमा देखादेख भएका उनलाई मैले कहिल्यै देख्न पाइन । उनको निधनको खबर समयमै नपाउँदा मैले मलामी जाने अवसर पनि पाइन ।

सात महिनाअघिको कुराकानीमा उनले मेरो प्रश्नको उत्तर दिँदै भनेका थिए, ‘संस्थापक भएको नाताले म यो संघले आफ्नो गरिमा बचाइराखोस्, गौरव गर्न लायक संस्था बनोस् भन्ने चाहन्छु । आपसमा झगडा गर्ने, आपसी स्वार्थको कुरा गर्ने कामले संघलाई फाइदा पु¥याउँदैन ।’ पार्टी हेरेर होइन, व्यक्तित्व हेरेर योग्य मान्छेलाई संघको नेतृत्वमा ल्याउनु पर्ने उनको विचार थियो । उनले भनेका थिए, ‘जुनसुकै पार्टीको भएपनि योग्य मान्छे नेतृत्वमा आउनु पर्छ । पार्टीगत उम्मेदवारी भयो भने यो संस्था, संस्थाको रुपमा रहँदैन ।’

तनहुँको बन्दीपुर बजारमा १९९३ साल पुसमा जन्मिएका पियाले २०७५ साल असार १९ गते भारतको नयाँ दिल्लीमा अपोलो अस्पतालमा रहेका बेला यो संसार छाडेर गए । मुटुरोगको उपचारका लागि नयाँ दिल्ली पुगेका पियाको असार २२ गते पवित्र तीर्थस्थल देवघाटधाममा अन्त्येष्टि गरियो । आमा स्व. कुसुमा र बुबा स्व. लोकनारायणका कान्छा छोरा थिए उनी । २०१४ सालमा विष्णु पियासँग लगनगाँठो कसेका कृष्णबन्धु दुई छोरा अरुण र वरुण एवम् तीन छोरी शोभा, प्रतिभा र सविनाको बुबा बने । 

उनले २०१५ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए काठमाडौँबाट । सानै उमेरमा दाजु गुमाएका पियाले पढ्ने चाहना हुँदाहुँदै पनि पढाईको यात्रा रोकेर व्यवसायको यात्रामा आफ्ना बुबालाई साथ दिएका थिए । व्यवसायमा बुबाका साझेदार थिए उनका काका सूर्यनारायण पिया । कृष्णबन्धुका बुबा लोकनारायण र काका सूर्यनारायणले साझेदारीमा भारतबाट नुन, तेल, लत्ताकपडा, तेल ल्याएर बन्दीपुरमा थोक तथा खुद्रा बिक्री गर्थे ।

२०१३ सालमा राप्ती दून परियोजना लागु भएपछि पहाडबाट चितवन बसाइँ सर्नेहरु बढे । चितवनमा बसाइँसराई बढेसँगै चितवनवासीका आवश्यकता पनि बढे । त्यतिबेला ठोरी नाकाहुँदै बन्दीपुर, गोरखा, तनहुँ, पोखरामा सामान ढुवानी हुन्थ्यो । नारायणगढ पनि व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै थियो । काका सूर्यनारायणले नारायणगढमा व्यापार बिस्तार गर्ने योजना सुनाएपछि कृष्णबन्धु २०१४ सालको चैत महिनामा काकासँगै नारायणगढ आएका थिए । नारायणगढमा पनि बन्दीपुरमा जस्तै नुन, तेल र लत्ताकपडाको व्यापार सुरु गरका थिए ।

कस्तो थियो २०१५ सालमा नारायणगढ भन्ने प्रश्नको जवाफ खोज्न विस्मृतिमा पुग्दै उनले भनेका थिए, ‘२०१५ सालमा मेनरोडमा मैले जग्गा लिँदा यो छेउजस्तो थियो । लिलाचोकमा दिउँसै गैँडा हिँड्थ्यो । अहिलेको शहीदचोक (२०४६ सालअघिको संगमचोक) मा बाघ, भालुको डरले साँझ परेपछि जान सकिँदैनथ्यो । घरहरु खरको झुप्रा थिए । बेलाबेलामा आगलागी हुन्थ्यो । बाटोघाटो थिएन, ग्राहकहरु पैदल आउँथे सामान लिन । त्यतिबेला नारायणगढ पश्चिम नेपालको व्यापारिक केन्द्र थियो । यहाँबाट पोखरा, गोरखा, तनहुँ, लमजुङ, धादिङसम्म सामान जान्थ्यो । पोखरा र पालुङ्टारमा डकोटा प्लेन चल्थ्यो । बन्दीपुर ठूलो व्यापारिक केन्द्र थियो । हामीले माडीहुँदै भारतको भिखना ठोरीबाट वयलगाडामा नुन, तेल, चुरोट ल्याउँथ्यौँ । नुन, तेलको खुद्रा व्यापार गर्ने त्यतिबेला त्यस्तै ५० जना जति थिए होलान् नारायणगढमा । मारवाडीहरु कोही थिएनन् । गैरनेवार एक, दुई जना थिए । चितवनको त्यतिबेलाको मुख्य उत्पादन तोरी हेटौँडाको बाटो भएर काठमाडौँ जान्थ्यो ।’

संघका संस्थापक सचिव कृष्णबन्धुका काका सूर्यनारायण पियाको नेतृत्वमा २०१६ साल माघमा तत्कालीन व्यापार संघ नारायणगढ स्थापना भयो । संघ स्थापनाकाल स्मरण गर्दै पियाले मसँगको कुराकानीमा भनेका थिए, ‘त्यतिबेला काठमाडौँमा नेपाल च्याम्बर थियो । मोरङ र विराटनगरमा व्यापार संघ थिए । त्यसपछि चितवनमा व्यापार संघ नारायणगढ स्थापना गरियो । त्यतिबेला अड्डाको काम गर्न हेटौँडाको भैँसे वा वीरगञ्ज पुग्नुपथ्र्यो । नारायणगढमा पिउने पानीको सुविधा थिएन, नारायणीको पानी पिउनु पथ्र्यो । बाहिरबाट आउनेहरु धर्मशालामा बस्नुपथ्र्यो । यिनै कठिनाईलाई निराकरण गर्न संघ स्थापना गरियो ।’

व्यवसायीका समस्या समाधानका लागि संघ स्थापना त भयो, तर संघ चलाउन आयस्रोत केही थिएन । कसरी संचालन भयो त्यतिबेला व्यापार संघ ? पियाको जवाफ थियो, ‘संस्था चलाउन आयस्रोत चाहिन्छ भनेर शुल्क उठाउन थाल्यौँ । नुन, मट्टितेल, चुरोट, खानेतेल, लत्ताकपडा आउँथ्यो, त्यसमा केही शुल्क तोकेर आम्दानीको स्रोत बनायौँ । त्यो रकमले बजारमा पिउनेपानीको लागि कलधारा बनायौँ । बाहिरबाट आउने अतिथिको लागि २०१८ सालमा नारायणगढको तीन ठाउँमा धर्मशाला बनायौँ । बालकुमारी स्कुललाई पहाडबाट नारायणगढमा सारेर संचालन ग¥यौँ । वीरेन्द्र कलेज संचालनमा सहयोग ग¥यौँ । त्यतिबेला अहिलेजस्तो सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था नभएकोले हामीहरुले नै संघमार्फत उद्योगी, व्यापारीको हितमा उठ्नुको साथै सामाजिक हितको लागि पनि काम ग¥यौँ ।’

संघका संस्थापक सचिव पियाले २०१६ सालदेखि २०४४ सालसम्म पटकपटक गरेर एघार वटा कार्यकालको नेतृत्व गरेका छन् । दुई वटा कार्यकालमा मन्त्री भएर संघमा काम गरेका पियाले तीन वटा कार्यकालमा सदस्य भएर संघलाई सघाएका थिए । ‘त्यतिबेला सबैलाई फुर्सद हुँदैनथ्यो । सबै जना आआफ्नै बन्द व्यापारमा रमाउँथे । पञ्चायत काल थियो । प्रशासनसँग टक्कर लिनुपर्ने भएकोले पनि साथीहरु अगाडि आउन हिच्किचाउँथे । त्यसैले मैले धेरै कार्यकाल नेतृत्व लिनुप¥यो’ ११ पटक संघको नेतृत्व सम्हालेका पियाले त्यसको स्पष्टिकरण दिँदै भनेका थिए, ‘हाम्रो पालामा अहिलेजस्तो नेतृत्वको लागि हानाथाप कहिल्यै भएन । हामीले राजनीतिक गन्ध आउन दिएनौँ । कोही काँग्रेस थिए, कोही कम्युनिष्ट थिए । सबैलाई कार्य क्षमताको आधारमा समितिमा राखेका थियौँ ।’

सबैभन्दा बढी कार्यकाल संघको नेतृत्व गरेका पिया तत्कालीन नेपाल उद्योग वाणिज्य संघको सदस्य पनि बने । उनले केन्द्रीय संघमा सदस्य भई सक्रिय योगदान गरेको भन्दै २०४७ सालमा संघको रजत वर्षको अवसरमा प्रशंसा पत्र पाएका छन् । लगत्तै उनले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट उद्योग वाणिज्य संघ नारायणगढको पूर्वसभापतिको हैसियतमा प्रशंसा पत्र पाएका थिए । 

चितवनका उद्योगी र व्यवसायीको हितमा क्रियाशील रहँदारहँदै असामयिक निधन भएका उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव दिवंगत कृष्णबन्धु पियालाई श्रद्धाका फूलरुपी यिनै शब्दले म आज सम्झन चाहन्छु । आज परेको ४५ औं दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जलि । मेरो सम्झनामा उनको हँसिलो अनुहार र मिठो बोली सदैव रहिरहने छ । 
 

प्रतिक्रिया दिनुहोस