धरानमा सामाजिक सद्भाव कायम राख्न कांग्रेसको अपिल

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १९ : १८
धरानमा सामाजिक सद्भाव कायम राख्न कांग्रेसको अपिल

काठमाडौं ।  नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति  चिन्ता प्रकट गर्दै कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक र समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक अपिल जारी गर्दै यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न अपिल गरेका छन्। 

‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन,’ कांग्रेसको अपिलमा भनिएको छ।

नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा नहुने भन्दै कांग्रेसले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने चिन्ता प्रकट गरेको छ। अपिलमा भनिएको छ, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’