पूर्वाधार विकासका सबै काम प्रदेशलाई दिनुपर्छ : सांसद सापकोटा

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, ११ : १८
पूर्वाधार विकासका सबै काम प्रदेशलाई दिनुपर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले सत्ता गठबन्धन तत्काल टुट्ने अवस्था नभएको दाबी गरेका छन् । ‘एउटै पार्टीभित्र त छलफल, बहस र विवाद हुन्छ भने धेरै पार्टीको गठबन्धनमा नहुने कुरा छैन । तर सत्ता साझेदारबीच त्यस्तो जटिल प्रकार असमझदारी छैन । भए पनि सरकार टुट्ने खालको छैन । अहिले नै यसमा सन्देह लिनुपर्ने स्थिति छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सांसद सापकोटाले सत्तापक्ष र विपक्ष सबै दलका सांसदको अनुरोधमा आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा अनावश्यक हल्लामात्र भएको दाबी पनि गरे । उनले भने, ‘यसबारे सांसदले आफ्नो खाताबाट सर्लक्क चेक काटेर पाँच करोड दिने जस्तो भाष्य बन्यो । तर यसमा सांसदको सिग्नेचरको कुनै रोल छैन । इमानदारीपूर्वक काम गर्दा यो कार्यक्रम प्रभावकारी हुन्थ्यो ।’

साथै उनले राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजनाबाहेक सबै विकास निर्माणको काम प्रदेशलाई नदिएसम्म संघीयता सुदृढ नहुने औंल्याए । सापकोटाले भने, ‘जनताले कुन सांसदले कानुन निर्माणमा कति योगदान गर् यो भन्दा पनि कति विकास गर् यो भनेर मूल्यांकन गर्छन् । अब राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजनाबाहेक सबै विकास पूर्वाधारको काम प्रदेशलाई दिनुपर्छ । स्थानीय तह पूर्वाधार निर्माणभन्दा जनताको जिविकोपार्जन, स्वरोजगारी, शिक्षा र स्वास्थ्यमा लाग्नुपर्छ । यो नमिलकाले विकास हुन सकेको छैन ।’

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि तथ्यभन्दा बाहिर गएर आशंका गरिएको पनि सापकोटाले बताए । उनले भने, ‘दुई पूर्वप्रधानमन्त्रीबारे तथ्यभन्दा बाहिर गएर आशंका मात्र गरिएको छ । प्रधानमन्त्रीको कार्यालयबाट ठाडो फाइल उठेको होइन । विभागीय मन्त्रालयबाट प्रक्रियासंगत ढंगले काम भएको हो । सरकारले चाहेर जोगाउन सक्ने वा नसक्ने भन्ने नै हुँदैन । यसमा गिभ एन्ड टेकको धरातल छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी कसरी अघि बढ्छन्, त्यस आधारमा संसदीय समितिको सभापति सर्वसम्मत वा निर्वाचनबाट चयन हुने पनि सांसद सापकोटाले औंल्याए । साथै उनले मुलुकको अर्थतन्त्र जर्जर भएको भन्ने आरोपको पनि खण्डन गरे ।

 

प्रतिक्रिया दिनुहोस