प्रधानमन्त्रीद्वारा त्रिशूली बस दुर्घटनाप्रति दुःख व्यक्त

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १४ : ४८
प्रधानमन्त्रीद्वारा त्रिशूली बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्  ।

बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ छहरामा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

‘‘काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ ।,’’ प्रधानमन्त्रीले भने, ‘‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’’

प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिए  ।

प्रतिक्रिया दिनुहोस