एनसेलको फोरजी जुम्ला पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, २० : ०३
एनसेलको फोरजी जुम्ला पुग्यो

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ ।

एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ । मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन् । यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।

एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरुले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, “हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ । सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं । हामीले फोरजीलाई उच्च प्राथमिकतामा राखेका छौं किनभने यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ ।”

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।

फोरजी प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस