काठमाडौं । संखुवासभा कारागारभित्र दुई जना कैदीको मृत्यु प्रकरणमा मानव अधिकारवादी संघसंस्थाले राज्यको सुरक्षा निकायको गम्भीर लापरबाहीको कारण घटेको जनाएको छ ।
कारागारभित्रै मरणाशान्न कुटपिट गरेर हत्यापछि अस्पताल लगिएको अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययनपछि बिहीबार पत्रकार सम्मेलनमार्फत् आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।
इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापा सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए। उनका अनुसार पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ।
भाग्न खोजेका ती कैदीहरुलाई नियन्त्रणमा लिइ प्रहरी र कैदीहरू नै मिलेर मरणाशान्न हुने गरी कुटपिट गरेको उनको भनाइ थियो । कैदीहरूको मृत्यु भएपछि बल्ल अस्पतालतिर लगेको अनुसन्धानमा देखिएको पनि उनले बताए ।
यस्तै, राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यका निकायको गम्भीर लापरबाहीको यस्तो घटना घटेको बताए । उनका अनुसार अरुको सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीबाटै नागरिकको यसरी ज्यान लिनु ज्यादै गम्भीर विषय हो । उनले चाँडै अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने पनि बताए ।
कैदीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ। घटनामा राज्यबाट खटिएका सुरक्षाकर्मी नै संलग्न रहेको भन्दै पीडित पक्षले किटानी जाहेरी दिएपछि घटनाले नयाँमोड लिएको थियो । हाल यस प्रकरणमा कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन् भने निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन्।
उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी नभएसम्म शव बुझ्न नमानेका परिवारले घटनाको ६ दिनपछि पक्राउ पुर्जी जारी भएपछि शव बुझेका थिए।अघिल्लो बुधबार कारागारबाट भाग्न खोज्ने दुई कैदीको कुटपिटपश्चात घाइते भएपछि उपचारका लागि अस्पतालम भर्ना गरिएको भनिएको थियो। हाल यस प्रकरणबारे विभिन्न सरकारी टोलीले पनि छानबिन गरिरहेका छन्।
कुटपिटपश्चात् ज्यान गुमाउनेमा संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १५ : ५८
लेखकबाट थप