कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, १४ : २९
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौँ । कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताए । अहिले देखिएका गम्भीर विषयमा सभापति चयन नभई पनि छलफल गर्न कुनै आपत्ति नहुनुपर्ने बताए ।

गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस