संविधान संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ : पूर्वप्रधानमन्त्री भट्टराई

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १२ : १७
संविधान संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताएका छन । पार्टी कामका लागि सुर्खेत पुगेका उनले शनिबार पत्रकारहरूसँग भष्टाचार बढेको बताए।

भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ । भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए। सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको भन्दै उनले भने, ‘मैले विगत देखिनै भन्दै आएको छु, छानबिन गरौँ भनेर, म तयार नै छु ।’

उनले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क गर्नुभयो । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३र४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो,’ उहाँले भन्नुभयो,‘ त्यो मेरो  नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताए । वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राख्नुभयो। ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ,’ उनले भने, ‘गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’

प्रतिक्रिया दिनुहोस