सरकारले युवा नीति परिमार्जन गर्दैछ : मन्त्री लिम्बू

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, ११ : ११
सरकारले युवा नीति परिमार्जन गर्दैछ : मन्त्री लिम्बू

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् । शुक्रवार काठमाडौँमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताए । उनले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गरे । 

उनले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गरे । ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ’ मन्त्री लिम्बुले भने, ‘युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् ।’ 

मन्त्री लिम्बूले आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न आग्रह गरे । उनले देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको पनि स्वीकार गरे ।

‘सबैलाई एकत्रित गरी देश विकासमा, देश निर्माणमा लगाउने संकल्पसहित अघि बढ्नुपर्छ । युवाबाट जुन असन्तुष्टि व्यक्त भइरहेका छन्, त्यो जति चाँडो देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना हुनुपर्दथ्यो, त्यो हुन सकेन, त्यसका लागि चाँडो सरकारले काम गरोस् भन्ने जुन युवाहरुको आवाज छ, त्यसलाई म सम्बोधन गर्न चाहन्छु’ उनले भने, ‘हामी सबै मिलेर देशको विकास गर्न सक्छौँ । यो मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसके तर जनताको आधारभूत आवश्यकता परिवर्तन हुन सकेन भन्ने जुन गुनासो छ, त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताए । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’ भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस