वाणिज्य बैंकहरूको नाफा ७० अर्ब, कसकाे कति ?

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १६ : ३४
वाणिज्य बैंकहरूको नाफा ७० अर्ब, कसकाे कति ?

काठमाडौं । आर्थिक मन्दी होस् वा कोरोनाकाल । जुनसुकै अवस्थामा पनि बैंकहरुले भने नाफा कमाइरहेका छन् । मुलुकका विभिन्न व्यवसाय आर्थिक मन्दीका कारण धराशायीमा छन् । कतिपय ठूलासाना व्यवसायी पलायन हुने अवस्थामा छन् । तर, बैंकहरुको नाफामा कुनै प्रभाव परेको छैन ।

आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको नाफा झनै बढेको छ । यो वर्ष बैंकहरुले करिब २५ प्रतिशत अर्थात ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

अहिले मर्जर तथा एक्विजिसनमा गएर ‘क’ वर्गका वाणिज्य बैंक २० वटामा झरेका छन् । मर्जर तथा एक्विजिसनमा गएका अधिकांश बैंकको नाफा बढेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंक नाफा कमाउनेमा अग्रस्थानमा छ । यसलाई ग्लोबल आईएमई बैंकले पछ्याएको छ । ग्लोबल आईएमईले पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई गाभेको थियो ।

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ । प्रतिशतका आधारमा धेरै नाफा बढ्नेमा पनि नबिल नै अगाडि रहेको छ । यसको नाफा अघिल्लो वर्षभन्दा अहिले ७६ प्रतिशतले बढेको हो ।

चार वाणिज्य बैंक, १० विकास बैंक र ५ फाइनान्स कम्पनी गाभिएर ग्लोबल आईएमई बनेको हो । ग्लोबल आईएमईमा कमर्स एन्ड ट्रस्ट, जनता, लुम्बिनी र बैंक अफ काठमान्डू विलीन भएका हुन् । वाणिज्य बैंकहरुबीच मर्जरको लहर सुरु गर्ने बैंक नै ग्लोबल आईएमई हो । सबै न्दा बढी बैंक तथा वित्तीय संस्था आफूमा समाहित गरेको ग्लोबल आईएमई नाफाका आधारमा दोस्रो भएको छ । उसले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ ।

नाफाकै आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । यस बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षभन्दा साढे १४ प्रतिशतले बैंकको नाफा बढेको छ ।

४ अर्ब ६५ करोड नाफासहित चौथो स्थान एनआईसी एसिया बैंकले लिएको छ । २०७० सालमा एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेको थियो । पाँचौं स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । यस बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ । मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असारसम्ममा नेपालमा वाणिज्य बैंकको संख्या ३२ थियो । त्यसपछिको एक दशकमै मर्जर तथा एक्विजिसनका कारण वाणिज्य बैंकहरुको संख्या २० मा झरेको हो ।

सात वटा बैंकको नाफा ३ अर्ब माथि

स्ट्याण्डर्ड चार्टड, एनएमबी, एभरेष्ट, हिमालयन, सिद्धार्थ र कृषि विकास बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ । स्ट्याण्डर्ड चार्टड, एनएमबी र एभरेष्ट बैंकले कुनै पनि वाणिज्य बैंक गाभेका छैनन । हिमालयन बैंकले भने सिभिल बैंकलाई गाभेको छ । यो बैंकको नाफा ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । नाफाका आधारमा यसको स्थान १०औंमा छ ।

स्ट्याण्डर्ड चार्टड बैंक ३ अर्ब ५२ करोड नाफासहित पाँचौं स्थानमा छ । एनएमबी बैंक ३ अर्ब ४१ करोड नाफाका आधारमा सातौं स्थानमा छ । सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंक छैटौं स्थानमा छ । एभरेष्ट बैंक नवौं स्थानमा छ । सरकारी स्वामित्वकै कृषि विकास बैंक १२औं स्थानमा छ ।

कुमारी र प्राइम कर्मसियललाई धक्का

सबै वाणिज्य बैंकहरुले नाफा गरेको आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहेका बेला कुमारी बैंक भने प्रभावित देखिन्छ । यस बैंकको नाफा अघिल्लो आवको तुलनामा २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २ अर्ब ५७ करोड रुपैयाँ रहेको कुमारीको नाफा यसपटक १ अर्ब ९५ करोडमा झरेको छ । बैंकले एनसीसी बैंकलाई गाभेको थियो । वाणिज्य बैंक नै गाभेको कुमारीले उल्लेख्य नाफा गर्न सकेन ।

प्राइम कर्मसियल बैंकको नाफा पनि १८.८१ प्रतिशतले घटेको छ । माछापुछ्रे बैंक नाफाका आधारमा सबैभन्दा पुछारमा पुगेको छ । नाफा घटेको कुमारी माछापुछ्रेभन्दा अगाडि छ । माछापुछ्रेको नाफा १ अर्ब ८५ करोड रुपैयाँ छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष नाफा बढेको हो ।

प्रभु बैंक, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई र सिटिजन्सको नाफा भने २ अर्ब माथि छ ।