झलनाथको दस्तावेज- नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १३ : २५
झलनाथको दस्तावेज- नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । साथै उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्,  ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

त्यस्तै सम्मानित नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।‘यो एउटा गंभिर राष्ट्रिय मुद्दा थियो । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो । अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ’, खनालले भनेका छन्, ‘तर जुन सर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलङ्क लगाउने काम गर्‍यो ।’

एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भनेका छन् । ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।

‘यति लामो समय सम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन् । सबैले त्यसलाई बिर्सिँदै गएका छन् । त्यस सम्झौतामा दर्जनौँ अपमानजनक सर्तहरू छन्’, खनालले एमसीसी सम्झौताप्रति असन्तुष्टि जनाउँदै भनेका छन् ‘कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरानै हुने थियो । तर यति गम्भीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिँदैन ।’

नेता खनालले पार्टीको प्रमुख प्रतिद्धन्दीबारे पनि प्रश्न गरेका छन् । ‘क्रान्ति र पार्टी निर्माणको हर कालखण्डमा प्रतिद्वन्द्वी निक्यौल गर्ने सवाल अर्को आधारभूत सवाल हो’, खनालले भनेका छन्, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्दिता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्व गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

खनालले नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी शक्ति र मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा नेपाली काँग्रेसबाहेक अरु कुनै हुन नसक्ने बताएका छन् । ‘यस बारेमा हामी लगायत सबै वामपन्थी समूहहरुले प्रस्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ । तर अन्य अधिकांश वामपन्थी समूहहरू ठिक यही बिन्दुमा चुकिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेका छन्’, खनालले भनेका छन्,  ‘यो दक्षिणपन्थी कार्यदिशा हो । यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायन तिर लगिरहेछ ।’

खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको किटान गरेका छन् । उनले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस