नेसपाको मुख्य कार्यभार संविधानलाई पूर्णता दिने : बाबुराम भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १४ : ३४
नेसपाको मुख्य कार्यभार संविधानलाई पूर्णता दिने : बाबुराम भट्टराई

भक्तपुर । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन् । 

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने पार्टीको मुख्य कार्यभार रहेकोमा जोड दिए । 

अध्यक्ष भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा मुलुक प्रवेश गरेकाले संविधानलाई पूर्णता दिने, कार्यान्वयन ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन तथा समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिबद्धता समेत जनाए । 

नेपाललाई संसारको समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको पनि भट्टराईको भनाइ  छ ।  ‘हिजो व्यवस्था फेर्न संघर्ष गर्ने, लड्ने, जेल जाने काम प्रमुख थियो । तर, आज संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भैसकेको छ । भलै त्यसका कतिपय अपूर्णहरु रहे’, उनले भने, ‘प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिँदै देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्‍याउने कार्यभार हुन्छ ।’

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टी जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस