तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, ०९ : ३६
तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए ।  

नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेका छन् । वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । 

पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि रु एक करोड बजेटसमेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताए । “निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ”, उनले भने, “व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन् ।” 

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई रु चार करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस