किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, ०७ : ०१
किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत

सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए । 

तराई अन्नका भण्डार भएकाले यहाँ सिँचाइ सुविधाको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डा.रावतले खेती गर्ने समयमा पानी नपाएर तराईका किसान निरास हुने गरेको उल्लेख गरे ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका डा.राउतले मुलुकमा व्याप्त सिन्डिकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिरसमेत गरे ।

आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसँग पहल गरेको दाबी गर्दै भारत सरकारले समेत नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको उनले बताए ।

अहिले तराई मधेसका ऊर्जावान युवा विदेशमा पसिना बगाइरहेको भन्दै यही ठूला उद्योगको स्थापना गरेर भए पनि रोजगारी सिर्जना गरेमा देशले पनि आर्थिक समृद्धि हासिल गर्नेमा उनले जोड दिए ।