वीर अस्पतालमा थप शय्यासहित भीआईपी र भीभीआईपी कक्ष

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १४ : ०१
वीर अस्पतालमा थप शय्यासहित भीआईपी र भीभीआईपी कक्ष

काठमाडौँ । वीर अस्पतालले थप शय्या र सुविधासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शय्या छुट्याइएको थियो ।

अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कुल ५ शय्या भीआईपी र भीभीआईपीका लागि कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेका हुन् ।

स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआईपी र भीभीआईपी कक्षको सुविधा र सङ्ख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भीआईपी तथा भीभीआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दाबी छ । 

मन्त्री बस्नेतले भने, ‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएका छौँ । त्यही टिमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।’मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान् कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी रहेका छन्।

उपकुलपति डा. बस्नेतले पहिले पनि भीआईपी र भीभीआईपी उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिँदै केही समय यता भर्ना नै हुने गरी कोही नभएको बताए।सुविधा सम्पन्न कक्ष बनेपछि भीआईपी र भीभीआईपी उपचारका लागि आउने विश्वास उनले व्यक्त गरे । उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय सहित किचेन समेतको सुविधा छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अब उपचारका लागि विदेश जाने चलन कम हुने बताए । बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरे पछि अहिले धेरै विरामीले वीर अस्पतालमा सहज रुपमा सेवा पाइरहेको डा. पौडेलले बताए । स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन पछि बिहान ९ बजेपछि सुरु हुने ओपिडी सेवा बिहान ८ बजेदेखि नै सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस