कोरिया रिटर्नीहरूलाई पुनः अवसर, खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १३ : ५६
कोरिया रिटर्नीहरूलाई पुनः अवसर, खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन

काठमाडौं । कोरियामा काम गरेर फर्किएकाहरूलाई पुनः कोरिया जान भाषा परीक्षाको लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो ।पाँच वर्ष कोरियामा काम गरेर फर्किएकाहरूले आवेदन दिनुपर्ने शाखाले जनाएको छ ।

भाषा परीक्षा भने आगामी भदौं १८ देखि २९ गतेसम्म हुनेछ । त्यसको नतिजा असोज ३ गते प्रकाशित हुने शाखाले जनाएको छ ।नेपाल सरकार कोरिया सरकारबीच सम्पन्न समझदारी अन्तर्गत कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुसार आवेदन आह्वान गरेको हो ।

आवेदन दिनका लागि नेपाली नागरिक हुनुपर्ने, ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्किेको हुनुपर्नेछ । त्यस्तै आवेदकको उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।

कोरियामा ई–९ र ई–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट ईपीएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउनेछन् । उनीहरूले उत्पादनमुलक र कृषि तथा पशुपालनका लागि जान पाउनेछन् ।

परीक्षा शुल्क २८ डलर लाग्नेछ । यसअघि कोरियाबाट फर्किएर आएकाहरूले आफुले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए । उनीहरूलाई प्राथमिकता दिने सहमित भएपछि आन्दोलन रोकिएको थियो ।