अमेरिकाले प्रविधिमा प्रतिबन्ध बढाए प्रतिकार गर्ने चीनको चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १२ : ४१
अमेरिकाले प्रविधिमा प्रतिबन्ध बढाए प्रतिकार गर्ने चीनको चेतावनी

काठमाडौँ । अमेरिकाका लागि चीनका राजदूत सी फेङले चीनले कुनै प्रविधि वा व्यापार युद्ध नचाहेको तर अमेरिकाले चिनियाँ चिप उद्योगहरूमाथिको प्रतिबन्ध अझै कस्दै लगेमा आफूहरूले त्यसको उपयुक्त प्रतिकृया दिने चेतावनी दिएका छन् । अस्पेन सेक्युरिटी फोरम नामक एक कार्यक्रममा बोल्दै उनले चीन प्रतिस्पर्धाबाट पछि नहट्ने तर अमेरिकाले जसरी प्रतिस्पर्धाको परिभाषा गरेको छ त्यो निष्पक्ष नभएको धारणा व्यक्त गरे ।

राजदूत फेङको यो धारणा अमेरिकी सरकारले गएका केही महिनायता अत्याधुनिक चिप निर्माणमा प्रयोग हुने सामाग्रीमा कस्दै लगेको नियन्त्रणतर्फ लक्षित थियो । यो त कस्तो भयो भने तपाईं पौडी प्रतियोगितामा आफ्नो प्रतिस्पर्धीलाई स्विमवेयर पनि लगाउन नदिने अनि आफू स्पीडो लगाएर पौडिने, फेङले व्यङ्य गर्दै भने, चीन सरकार त्यसमा मुकदर्शक भएर बस्दैन । भनाइ नै छ कि चीन आफैँ आक्रामक हुन जाँदैन तर अरू आक्रामक भएर आएमा झुक्दैन । पछिल्ला दिनमा अमेरिकाले देशबाहिर हुने लगानीको समीक्षाका लागि संयन्त्र बनाउने र चीनतर्फ हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्यातमाथिको प्रतिबन्ध अझै बढाउने तयारी गरिरहेको चर्चा चलेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बाइडेन प्रशासनले कतिपय अत्याधुनिक सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा लगानी गर्न रोक लगाउने किसिमले आदेशको तयारी गरिरहेको र सेप्टेम्बरको पहिलो साता अमेरिकामा मनाइने लेबर डेसम्म त्यसमा हस्ताक्षर हुने कार्यक्रम रहेको एक उच्च अमेरिकी सरकारी अधिकारीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

गएको अगस्टमा कानुन नै पास गरेर बाइडेन प्रशासनले अत्याधुनिक सेमिकन्डक्टर चिपमाथि चीनको पहुँच कम गर्ने र अमेरिकाको घरेलु चिप उत्पादन क्षमता प्रवर्द्धन गर्ने भन्दै अर्बौं डलरको योजना अघि सारेको थियो । त्यसको प्रत्युत्तरमा चीनले मे महिनामा अमेरिकी चिप निर्माता माइक्रोनका उत्पादनहरूमा प्रतिबन्ध लगाएको थियो । अमेरिका र चीन खुला रूपमै एकअर्कालाई अत्याधुनिक चिपको उत्पादन र बजार विस्तार रोक्न अघि सरेपछि जापान, युरोपेली संघलगायत पनि उपलब्ध चिप आपूर्ति संयन्त्र गडबड भएमा विकल्प के हुनसक्छ भन्ने खोजीमा छन् ।

अमेरिकी ढुकुटी मामिला मन्त्री ९ ट्रेजरी सेक्रेटरी० ज्यानेट येलेनले पनि गएको साता आफ्नो चार दिने चीन भ्रमणका क्रममा अमेरिकी सरकारले ल्याउन लागेको सो आदेशको बारेमा आफूले चिनियाँ अधिकारीहरूसँग अन्तर्क्रिया गरेको र सो आदेश अत्यन्तै सीमित र तोकिएका क्षेत्रहरूका लागि मात्रै हुने आफूले स्पष्ट पारेको बताएकी थिइन् ।प्रविधिसम्बन्धी लेखक डेभिड बर्नस्टर्म अमेरिकाको चिप बिलले तनावपूर्ण बनेको अमेरिका र चीनबीचको प्रविधि बजार मामिला आगामी आदेशपछि थप जटिल बन्ने अनुमान गर्छन् ।