डेंगु नियन्त्रण योजना लागू

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, १५ : ३०
डेंगु नियन्त्रण योजना लागू

काठमाडौं ।  डेंगु नियन्त्रण योजना लागू भएको छ । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले वार्षिक कार्यक्रम नै बनाएर नियन्त्रण योजना  लागू गरेको हो । सरकारले यसअघि पनि विभिन्न कार्यक्रममार्फत डेंगु नियन्त्रण प्रयास गर्दै आएको थियो । तर यस पटक देखि भने डेंगु नियन्त्रणका लागि कार्ययोजना नै बनाएर ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिका बारेमा स्पष्ट पारिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।  डेंगुको संक्रमण बढी भएका ठाउँहरु काठमाडौं, ललितपुर,भक्तपुर, चितवन र मकवानपुरमा  वार्षिक कार्ययोजना लागू गरिसकेको बताए । 

मरासिनीका अनुसार नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखिए यता १९ वर्षमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगु संक्रमणबाट सरकारले राखेकोतथ्यांकअनुसार ८८ जनाको मृत्यु भइसकेको छ । डेंगुका कारण २०७९ भन्दा अघिका वर्षहरुमा कतिको मृत्यु भयो भन्ने तथ्यांक सरकारसँग छैन । सन् २०२३ मा नेपालमा जुलाई १५ सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उनले जानकारी गराए। 

डा.मरासिनीले डेंगुको संक्रमण पछिल्लो समय बढ्दै गइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरे। वर्षा बढेसँगै देशका विभिन्न भूभागमा डेंगुको जोखिम उच्च भएको बताए ।  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । 

डेंगु नियन्त्रणका लागि स्थानीय सरकारले लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्ने बताए । डेंगु नियन्त्रणका लागि सर्वसाधारणले लामखुट्टे बस्ने, फुल पार्ने लगायतका पानी जम्न नदिने काम प्राथमिकताका साथ गर्नुपर्ने बताए । केही समय यता डेंगु संक्रमणले प्रकोपको रुप लिइरहेको भन्दै डा. पुनले आगामी वर्ष डेंगुको जोखिम झनै बढ्नसक्ने बताए ।

डा. पुनका अनुसार नेपालमा सन् २००४ मा डेंगु संक्रमण देखिए यता वर्षेनी संक्रमण बढिरहेको छ । सबैभन्दा बढी २०२२ (५४ हजार ७ सय) मा डेंगु संक्रमण देखिएको छ ।  डेंगु वर्षात्मा बढी र त्यसपछि भने सामान्य रुपमा देखिने गरेको बताए । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस संक्रमित भएका र मृत्युपनि भएको बताए । डेंगु रोकथाममा तीन तहकै सरकारबीच आवश्यक समन्वय हुनुपर्ने देखिन्छ । सरकारले ल्याएको वार्षिक कार्ययोजनामा सबै सरोकारवालाको भुमिका स्पष्ट पारिएको बताइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस