सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १० : ५९
सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

गण्डकी । पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो ।पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु औधि खुशी भएका हुन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका यस्ता पढाइ वरदान सावित भएका छन् ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब सात प्रतिशत विद्यार्थी सङ्ख्यामा वृद्धि भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सोमनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार महानगरमा नेपाल सरकारकोतर्फबाट शुक्रराज मावि पुम्दी भुम्दीमा भेटेनरी, महेन्द्र मावि भलामामा कृषि, बह्मरुपा मावि राजाकोचौतारोमा कम्प्युटर साइन्स, जनप्रिय मावि सिमलचौरमा सिइभिल इन्जिनियरिङ अम्वीका मावि सुइखेत हेमजामा कम्प्युटर साइन्स पढाइ भइरहेको छ ।

त्यसैगरी सिटिइभिटीअन्तर्गत जानकी मावि महतगौडामा वन विज्ञान, सरस्वतीटीका मावि सिभिल इन्जिनियरिङ र आनन्दज्योति मावि बेगनासमा कृषि विषयका पढाइ सञ्चालन गर्दे आएको उनको भनाई छ ।

‘विद्यार्थी, शिक्षक र अभिभावको त्रिकोणात्मक प्रयास एवम् सरोकारवाला निकायको प्रभावकारी अनुगमनले शैक्षिक गुणस्तरमा वृद्धि भएकोछ’, उनले भने, ‘महानगरअन्तर्गतका अमरसिंह, छोरेपाटन, जनचेतना, सितलादेवी लगायतका एक दर्जनभन्दा बढी विद्यालयमा वार्षिकरुपमा भर्नादरमा अत्यधिक चाप बढेको छ ।’

सुविधान सम्पन्न भौतिक पूवाधार निर्माण भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्ने क्रम बढेपछि महानगरले प्राविधिक विषयमा पहल गर्दै आवश्यक भौतिक संरचना एवं प्रयोगशाला स्थापना सहयोग गर्दै आएको उनले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत महानगरका विभिन्न २१ वटा विद्यालयमा पाँचदेखि ५० लाखसम्मका भौतिक संरचना निर्माण भइरहेको बताउँदै प्रमुख भण्डारीले भने, शैक्षिक क्षेत्रमा भएको सुधारका कारण संस्थागत विद्यालयबाट वार्षिक ठूलो सङ्ख्यामा विद्यार्थी सामुदायिक विद्यालय भर्ना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

जानकी माविमा वन विज्ञानको पढाइ

ऐतिहासिक एवं धार्मिक क्षेत्र ढुङ्गेसाँघु (महतगौडा) जानकी माध्यमिक विद्यालयमा तीन वर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको हो ।

उक्त विषयमा पढाइ सञ्चालन गर्ने जिल्लाकै पहिलो जानकी माविमा हाल १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापनरत रहेको वन विज्ञान संयोजक शङ्कर भण्डारीले जानकारी दिए ।

उनका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालनमा आएको छ ।

तीन वर्षे डिप्लोमा तहको उक्त पढाइको लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘विद्यार्थीले उक्त रकममध्ये पहिलो वर्ष ४० प्रतिशत र दोश्रो र तेस्रो वर्षमा ३०-३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्नेछ ।’

विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवं पोखरा महानगर, सिटिइभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी दिए । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्की भवन निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । विद्यालयमा हाल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।

उक्त विद्यालयले कमाउँदै पढ्दै कार्यक्रमअन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप प्रदान गर्दै आएको छ । विद्यार्थीका कलिला हात र सीप उपयोग गदैै बाँसबाट बनेका सामग्री घरमा सजावट एवं उपहारका लागि बिक्री वितरण गरिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस