भोटेकोसीमा पानी बढेकाले सचेत रहन आग्रह

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, २१ : ४४
भोटेकोसीमा पानी बढेकाले सचेत रहन आग्रह

काठमाडौ । भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा बुधबार अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ । बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

मातहतका सबै प्रहरी चौकीमार्फत सतर्कता अपनाउने कार्य भइरहेको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाढीबाट हुनसक्ने असरबाट सबैजना सुरक्षित रहन र सुरक्षित गराउन अनुरोध गरिएको बताए।

प्रतिक्रिया दिनुहोस