स्रोत सुनिश्चित नहुँदै आयोजना सुरू गर्दा अरबौंको दायित्व थपियो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, २५ असार २०८०, १३ : ३०
स्रोत सुनिश्चित नहुँदै आयोजना सुरू गर्दा अरबौंको दायित्व थपियो : अर्थमन्त्री  महत

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौंको दायित्व थपिएको बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरबौंको दायित्व थपिएको बताएका हुन्। 

स्रोत सुनिश्चित भएका बहुवर्षीय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताए । मन्त्री महतले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरुलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाँप देखिएको धारणा राखे।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी वर्षको बजेटमा देखिएको जिकिर गरे।  उनले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए।

उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस