नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई फाउन्डेसनको सहयोग

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १२ : २३
नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई फाउन्डेसनको सहयोग

काठमाडौँ । बीपी कोइराला इन्डो—नेपाल फाउन्डेसनले आगामी दिनमा पनि नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फाउन्डेसनले यसअघि पनि सुस्तश्रवणहरुको नेपाली क्रिकेट टोलीलाई सहयोग गर्दै आएको छ । नेपालले सुस्तश्रवणहरुको तीन राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागिता जनाउँदा पनि फाउन्डेसनले आवश्यक सहयोग गरेको थियो ।

तीन राष्ट्र सम्मिलित उक्त प्रतियोगिता गत अप्रिल २८ देखि मे ६ तारिखसम्म भारतको कोलकातामा आयोजना भएको थियो । सुस्तश्रवणहरुको भारतीय क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउन फाउन्डेसनले सुस्तश्रवणहरुको नेपाल क्रिकेट सङ्घलाई आर्थिक सहयोग पनि गरेको थियो । 

 

उक्त प्रतियोगितामा नेपाली टोलीको सहभागिता, खेलकुद सामाग्री, तयारी, यातायात खर्चलगायतको विषयमा फाउन्डेसनले सहयोग गरेको थियो । यसका अतिरिक्त फाउन्डेसनले सुस्तश्रवण भएको व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन र त्यस विषयमा जनचेतना फैलाउन पनि फाउन्डेसनले सङ्घसँग हातेमालो गर्दै आएको छ । 

 

यसैक्रममा गत शुक्रबार सुस्तश्रवण भएका क्रिकेट खेलाडीहरूको सम्मानमा अभिनन्दन कार्यक्रममा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फाउन्डेसनले सङ्घलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सन् १९९१ मा स्थापना भएको फाउन्डेसनले दुई देशबीच सांस्कृतिक, शैक्षिक र खेलकुदबीच सौहादपूर्ण सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस