यस्तो बन्यो भूमिगत हुँदा प्रचण्ड र बाबुराम बसेको ठाउँ

सफल खबर संवाददाता

आइतबार, २० साउन २०७५, १८ : ५५
यस्तो बन्यो भूमिगत हुँदा प्रचण्ड र बाबुराम बसेको ठाउँ

मकवानपुर । दुई दशकदेखि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई राष्ट्रिय राजनीतिमा सार्वजनिक हुनुअघिको ‘सेल्टर’ यतिखेर सुनसान छ । ४८ बिगाह क्षेत्रमा फैलिएको आँपघारीको त्यो सेल्टरमा साँझपख झ्याउँकिरी बासेको मात्र सुनिन्छ ।

जनमुक्ति सेनाले खनेका सुरूङमा पानी जमेको छ । दक्षिणको चकरी खोलामा आउने वर्षातको भेल आकाशे पानी रोकिएसँगै सुस्ताउन थाल्छ । हेटौँडा उपमहानगरपालिका बुद्धचोकबाट १३ किलोमिटर दक्षिणको मनहरी गाउँपालिका–१, चकरीस्थित भोर्लेटाँडीको कथा हो यो । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड, नेता भट्टराई, उपराष्ट्रपति नन्दकिशोर पुनसहितका शीर्ष नेताहरू काठमाडौँमा सार्वजनिक हुनुअघि यहीँ बसेका थिए ।

सार्वजनिक जीवनमा आउनुअघि देशमा राजनीतिक तरलता थियो । जनआन्दोलन सफल भएर अन्तरिम संविधान बन्दै गर्दा भोर्लेटाँडीस्थित आँप बगैचामा सेल्टर बनाएर प्रचण्ड, भट्टराईसहितका नेताहरू २२ दिन बसेका थिए । जतिबेला चकरी गाउँ जनमुक्ति सेनाको कब्जामा थियो । गाउँमा जनमुक्ति सेना र कार्यकर्ता बाँडिएर बसेका थिए । आँपघारीमा बनाइएको ठूलो सभाहलमा हरेक दिन राजनीतिक प्रशिक्षण हुन्थ्यो । जहाँ सर्वसाधारण जान पाउँदैनथे ।

बीच बगैचामा आँपको ठूलो रूखमा रेडियो झुण्ड्याएर समाचार सुन्थे प्रचण्ड। त्यही आँपको रूखमा कुर्सी अड्याएर दैनिकजसो पत्रपत्रिका पढिरहेका हुन्थे । स्थानीय अबिनाश लामा बिगत सम्झँदै भन्छन्–‘प्रचण्डज्यूले रेडियो सेट झुण्ड्याएर समाचार सुन्नु भएको रूख त्यही हो ।’ अबिनाशसहितको टिम अहिले त्यही रूखमा ‘ट्री हाउस’ को अबधारणा बनाएर पाहुनाघर बनाउने योजनामा छ । बन्दै गरेको घर देखाउँदै अबिनाश भन्छन्–‘यो घरमा प्रचण्डलाई ल्याएर एकरात सुताउने रहर छ ।’

माओवादीको ठूलो टिम २२ दिनससम्म बस्दा बनेको सभाहल त अहिले छैन, तर यही बगैंचालाई गेष्ट हाउसको रूपमा परिणत गरी ऐतिहासिक पर्यटकीय स्थल बनाउने यहाँका युवाको सोच छ । यसका लागि उनीहरूले पर्यटन विकास समिति गठन गरेका छन् । समितिको अध्यक्ष उनै अबिनाश हुुन् । स–साना पार्क, बगै‌ंचा, केही थान रूखमाथि घर र रेस्टुरेन्ट चलाएर यसलाई पर्यटकीय हिसाबले विकास गर्ने उनीहरूको लक्ष्य छ । यसका लागि सरकारी लगानीको अपेक्षा गरिएको अबिनाशले बताए । आँपघारी व्यक्तिको निजी स्वामित्वमा छ ।

यसका अलावा चकरी खोला छेउमा पोखरी बनाएर माछापालन गर्ने, खोला दक्षिणको ह्वाङ्ग्रे डाँडोमा स–साना पार्क तथा पैदलमार्ग बनाएर यो क्षेत्रलाई आवासीय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेमा स्थानीय युवाले समेत रोजगारी पाउने बताउँछन् अर्का युवा किशोर कँडेल । पर्यटन समितिका सचिवसमेत रहेका किशोरका हजुरबुवा लक्ष्मणले आँप बगैंचा बनाएका हुन् ।

युवाहरूको योजनालाई साकार बनाउन राज्यका तर्फबाट पनि प्रोत्साहन गर्नुपर्ने बताउँछन् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती । गुरूयोजना निर्माणमा स्थानीय तहबाट पनि केही रकम बिनियोजन गरिने उनले बताए ।

एकपटक आइदेऊ प्रचण्ड–बाबुराम
युद्ध समाप्तिसंगै नेताहरू सार्बजनिक हुने र जनमुक्ति सेनालाई शिविरमा एकीकृत गर्ने तयारी हुँदै थियो । त्यसबेला माओवादीले भोर्लेटाँडीभन्दा ५ किलोमिटर परको पदमपोखरीमा राष्ट्रिय स्तरका सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पत्रकार सम्मेलन गर्‍यो । पत्रकार सम्मेलनपछि नेताहरूले त्यतैबाट काठमाडौँको यात्रा तय गरे ।

तर, गाउँलेहरूले गुनासो गरे–‘यत्रो महिना हाम्रै गाउँमा रहनुभयो, एकपटक पनि हामीमाझ नबोलिकन जान पाइँदैन ।’ त्यसपछि प्रचण्ड र भट्टराईले श्री राष्ट्रिय प्राथमिक विद्यालयमा गाउँलेलाई सम्बोधन गर्दै भनेका थिए–‘अब देश नयाँ युगमा गयो, देशले द्रूतगतिमा विकासको फड्को मार्छ र त्यसको सुरूवात चकरीबाटै सुरू हुन्छ ।’ यति आश्वासन बाँडेर काठमाडौं हिडेका प्रचण्ड र भट्टराई त्यसपछि यहाँ फर्केका छैनन् ।

जनताले प्रचण्ड र बाबुरामको प्राथमिकतामा चकरी किन परेन भनेर गुनासो गरेको स्थानीय पोषक बिष्टले बताए । उनीहरूले चकरी र भोर्लेटाँडी बिर्सेपछि प्रचण्ड सुत्ने गरेको घरका मूली कांग्रेसतिर लागेका छन् । एमाले र माओवादीबीचको टक्करका कारण स्थानीय चुनावमा मनहरी गाउँपालिका वडा– १ कांग्रेसको पोल्टामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस