साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १२ : ३९
साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज

काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ । यस पटक दुई आमन्त्रित टिम लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ ।

पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ । बेंग्लोस्थित श्री कान्तिरावमा कुवेत र बंगलादेशबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ भने भारत र लेबनाको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेका कुवेत र लेबनान आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । समूह ए मा भारतसमान ७ अंक जोडेको कुवेत गोल अन्तरमा अघि रहँदै समूह विजेता बनेको हो ।  लेबनानले भने समूह बी मा तीनवटै खेल जितेको थियो । बंगलादेश समूह बी उपविजेता बन्दै १४ वर्षपछि सेमिफाइनल पुगेको हो ।

भारतविरुद्ध बदला लिने लेवनानको योजना

साफको सबैभन्दा सफल टोली र दक्षिण एसियाको पावर हाउस मानिने भारतको यस क्षेत्रमा दबदबा छ । सेमिफाइनलमा लेबनानविरुद्ध खेल्दा भारतको प्रभुत्व कायम रहन्छ वा तोडिन्छ हेर्न बाँकी छ ।

विगत एक महिनादेखि भारतमा रहेको लेवनान यो अवधिमा आठौं खेल खेल्दैछ । इन्टरकन्टिनेन्सटल कपमा भारतसँग दुई पटक खेलिसकेको लेबनान यस पटक दबला लिन चाहन्छ । भुवनेश्वरमा भएको इन्टरकन्टिनेन्टल कपको फाइनलमा भारतले लेबनानलाई पराजित गर्दै उपाधि जितेको थियो भने त्यसअघि बराबरी खेलेको थियो ।

भुवनेश्वरको मौसम गर्मी रहेकोले लेबनानलाई बेंग्लोरमा खेल्न केही सहज हुनेछ ।

मुख्य प्रशिक्षक इगोर स्टिमाकको अनुपस्थितीमा टच लाइन मस्हाल्ने भारतमा सहायक प्रशिक्षक महेश गवलीले पनि लेबनानलाई बेंग्लोरमा खेल्न सहज हुने मानेका छन् । ‘उहीहरुले यहाँ राम्रो खेलिरहेका छन् र यो फरक खेल हुनेछ । उनीहरुको अट्याकिङ राम्रो छ र कप्तान हसन क्षमतावना खेलाडी हुन् ,’ उनले भने ।

यस्तै भारतीय कप्तान सुनिल क्षेत्रीले लेबनानसँग दुई पटक खेलिसकेकोले दुवै टिम एकआर्कामा परिचित रहेको बताए । लेबनान बदला लिने लक्ष्यमा रहेको अवस्थाबारे क्षेत्री पनि जानकार छन् ।

कप्तान सुनिलले समूह चरणमा तीनवटै खेलमा गोल गरेका थिए । उनकै ह्याट्रकिमा भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो । नेपाल विरुद्ध २-० को जितमा एक गोल गरेका उनले कुवेत विरुद्ध बराबरी खेल्दा पनि पहिलो गोल गरि अग्रता दिलाएका थिए ।

लेबनानका प्रशिक्षकक अलेक्जान्डर इलिचले पनि दुवै टिम एक आर्का बारे जानकार रहेको र कुनै सेक्रेट नभएको बताए । साथै उनले भारतविरुद्ध उत्कृष्ट टिम बनाएर खेल्ने बताए । यसअघिका दुई खेलको अनुभवलाई भारत विरुद्ध साफ सेमिफाइनलमा प्रयोग गर्ने उनले बताए ।

समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा लेबनानले बंगलादेशलाई २-०, भुटानलाई ४-१ र माल्दिभ्सलाई १-० ले हराएको थियो ।

१८ वर्षपछि फाइनल पुग्ने बंगलादेशको लक्ष्य

बंगलादेशले जम्मा एक पटक साफ उपाधि जितेको छ २००३ मा  । त्यसपछि २००५ मा पनि बंगलादेशले फाइनल खेलेको थियो तर भारतसँग पराजित भयो । १४ वर्षपछि सेमिफाइनल पुगेको बंगलादेशले अब कुवेतलाई हराएर १८ वर्षपछि फाइनल खेल्ने महत्वाकांक्षी लक्ष्य बनाएको छ ।

तर कुवेतलाई हराउनु बंगलादेशका लागि सहज भने हुने छैन । समूह ए मा अपराजित कुवेतले नेपाललाई ३-१ ले, पाकिस्तानलाई ४-० ले हराएको थियो भने भारतसँग १-१ को बराबरी खेलेको थियो ।

बंगलादेश भने पहिलो खेलमा लेबनानसँग २-० ले पराजित भएको थियो । त्यसपछि माल्दिभ्स र भुटान विरुद्ध समान ३-१ को पुनरागमन जित निकाल्दै बंगलादेशले सेमिफाइनल यात्रा तय गरेको हो ।

बंगलादेशका कप्तान जमल भुयानले टिममा आत्मविश्वास रहेको तर कुवेतलाई सम्मान गर्ने बताएका छन् । पिफा वरीयतामा कुवेत १४१औं स्थानमा छ भने बंगलादेश १९२औं स्थानमा छ । तर सेमिफाइनल पुगेको टिमलाई हल्का रुपमा नलिने र सम्मान गर्ने कुवेतका प्रशिक्षक रुई बेन्टोले बताएका छन् । बंगलादेशले पछिल्लो एक महिना सुधारिएको प्रदर्शन गरेको बेन्टोले बताए ।

बंगलमदेशले अहिलेसम्म दुई खेल खेल्दा कुवेतलाई हराउन सकेको छैन । बंगलादेशका स्पानिस प्रशिक्ष जाभिएर काब्रेराले कुवेत विरुद्ध जितको लक्ष्यसहित खेल्ने र यो खेल कुवेतको आक्रमक भर्सेस बंगलादेशको डिफेन्स हुने बताए ।

प्रतिक्रिया दिनुहोस