राष्ट्रियसभाको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १४ : ४६
राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८–७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।  महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८/७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुहुने कार्यसूची  छ ।

 आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्नेछन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न उठाए । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयदेखि भारतीय कम्पनीले ओगटिरहेका विषयमा भारत भ्रमणका क्रममा कुनै विषय नउठेको तर फुकोट कर्णाली जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा भारतलाई दिनेगरी सहमति भएको उनको भनाइ छ ।

सांसद युवराज शर्माले नेपालमा भारतीय चलचित्र रोक लगाइएको, बजेटमा रोजगारी सिर्जना गर्ने विषय सम्बोधन हुन नसकेको, विभिन्न नदीमा लगाइएको बाँधका कारण तराईका कितिपय स्थान डुबानमा पर्ने गरेकालगायत विषय उठाए । सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिम क्षेत्रलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको बताइन् । सुदूरपश्चिम क्षेत्रका नागरिकले आफ्ना साना माग पूरा गर्नका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने र काठमाडौँ धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

अहिले कैलालीको गेटामा आन्दोलन चलिरहेकामा सरकारले त्यसलाई बेवास्ता गरेकोबारे उनले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गरिन् । “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने भनिएकामा आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उल्लेख गरिएकोप्रति कैलालीको गेटामा आन्दोलन चलिरहेको छ । तर सरकारले त्यसलाई सुनेको छैन । यो विषयमा सरकारको ध्यानाकर्षण होस्”, उनले भनिन् ।