चुनावी समीक्षा

संयुक्त वाम गठबन्धनको चुनावी समीक्षामा प्रचण्डको प्रशंसा

बुधबार, ०५ पुस २०७४, १७ : ०७
संयुक्त वाम गठबन्धनको चुनावी समीक्षामा प्रचण्डको प्रशंसा

जगतपुर । संयुक्त वाम गठबन्धन चितवन निर्वाचन परिचालन क्षेत्र नम्बर ३ ले बुधबार जगतपुरमा हालै सम्पन्न निर्वाचनको समीक्षा गरेको छ । निर्वाचन परिचालन  समितिका संयोजक सूर्य सुवेदी पथिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आआफ्नो कमान्ड क्षेत्र र वडाहरूको समिक्षात्मक विवरण पेस गरेका थिए ।
समीक्षा कार्यक्रमका सहभागीहरुले वाम गठबन्धनका सबै उम्मेदवारहरू सानदार मतले विजयी भएको भन्दै समग्र निर्वाचन परिचालन सफल रहेको निचोड निकालेका थिए । निर्वाचन अवधिभर नेता र कार्यकर्ताको मनोबल उच्च हुनु, उम्मेदवारहरू उच्च साहसकासाथ परिचालन हुनु र नेपाली राजनीतिका धरोहर शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्नुले नै समग्र चितवनको निर्वाचनमा उभार ल्याएको सहभागीहरूले बताएका थिए ।
माडी नगरपालिकाका ९ वटा वडा र भरतपुर महानगरपालिकाको १९ वटा वडा रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ को समीक्षाका क्रममा वाम गठबन्धनको मत उत्साहजनक रूपमा गठबन्धनमै खसेको र विपक्षी गठबन्धनको मत ज्यादै न्यून रूपमा आएको सहभागीहरूले निष्कर्ष निकालेका थिए । समीक्षामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।


सहभागीहरूले निर्वाचन परिचालनका क्रममा भएका कमी, कमजोरीहरूको कटु आलोचना गर्दै आगामी दिनमा सच्याएर जान नेतृत्वलाई सुझाएका थिए । सहभागीहरूले यसपटकको निर्वाचनमा नेता, कार्यकर्ता र जनताले एउटै कम्युनिष्ट केन्द्र निर्माण र चितवनको विकासका लागि सशर्त मतदान गरेको भन्दै कुनैपनि स्वार्थमा पार्टी एकता गरिछाड्न सहभागी नेतामार्फत शीर्ष नेतृत्वलाई दवाब दिएका थिए ।
कार्यक्रममा संयोजक सूर्य सूवेदी पथिक, सहसंयोजक देवी ज्ञवाली, प्रदेश सांसदहरु कृष्ण भूर्तेल र रामलाल महतो लगायतका नेताहरूले जनताको विकास, समृद्धि र पार्टी एकताको चाहनालाई पूरा गर्न आआफ्नो क्षेत्रबाट भूमिका खेल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस