ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १५ : १४
ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङदेनको घर पुरिएको हो ।उक्त घरमा लिङदेन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।

यस्तै, मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन् । स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको कँडेलले बताए ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरू अधिकांश स्थानीय नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।