चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालले कर्मचारीहरुको लागि लेखा तथा कार्यालय व्यवस्थापनसम्बन्धी तालिम दिएको छ ।निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रीय कार्यालय, संकाय, निर्देशनालय एवम् आंगिक क्याम्पसहरुका सामान्य प्रशासन शाखाअन्तर्गत भण्डार तथा खरिद इकाइमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ म्यानुअल इम्प्लिमेन्टेसन प्रोसिडुअर्स’ तालिम सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको विश्वविद्यालयका उपकुलपति प्रा डा. पुण्यप्रसाद रेग्मीले आज उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा. रेग्मीले सहभागीलाई तालिमको औचित्य पुष्टि हुने गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याई विश्वविद्यालयको सम्पूर्ण निकायहरुको खरिद र भण्डार व्यवस्थापनका कार्यहरुमा एकरुपता र पारदर्शिता कायम गर्न निर्देशन दिए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको नयाँ लेखा व्यवस्थापन प्रणाली बारेमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको बताइन् । नयाँ प्रणालीमा अभ्यास गर्दै जाँदा पोख्त हुने भएकाले तालिमको सिकाइलाई अभ्यासमा ल्याउनुपर्ने उनको विचार छ ।
कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान पशु चिकित्सा एवम् मत्स्य विज्ञान संकायका डीन प्रा. डा. होमबहादुर बस्नेत, वन विज्ञान संकायका डीन डा.गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।तालिमको सुरुवातमा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरेका थिए । विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागू गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा उनले अभिमुखीकरण गरेका थिए ।
तालिम अवधिभर विश्वविद्यालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंगाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत सञ्जिव न्यौपाने, वरिष्ठ इन्जिनियर कृष्णबहादुर अधिकारी, इन्जिनियर प्रशान्त पौडेललगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् ।
‘तालिमभर नयाँ लेखा व्यवस्थापन प्रणालीका विशेषता तथा सापेक्षता, भण्डार तथा सम्पत्ति व्यवस्थापन, सार्वजनिक खरिद एवम् निर्माणमा प्रयोग हुने फारामहरु, आन्तरिक नियन्त्रण प्रणाली, स्टक निरीक्षण प्रतिवेदन तयारी, लिलामी प्रक्रिया लगायतका विविध विषयहरु समेटिएको छ’ संयोजक एवम् निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले तालिमको बारेमा जानकारी दिँदै भने, ‘तालिममा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक सत्रहरु रहनेछन्’ । कार्यक्रममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३३ जना कर्मचारीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १६ : ०२
लेखकबाट थप