विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १३ : ३९
विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन् ।क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो ।

जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो । जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो ।‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो । यो सामूहिक प्रयास थियो, सबैको योगदान छ ।’आसिफले विश्वकपको मुख्य प्रतियोगितामा पुग्दै अर्को इतिहास बनाउने हो भने कडा मिहिनेत गर्ने समय आएको बताए ।

‘मलाई लाग्छ हामी हाम्रो क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं ।’नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जित्दै ४० अंक जोडेर च्याम्पियन स्कटल्याण्ड र ओमान भन्दा पछि रहँदै तेस्रो भएको थियो । लिग टु बाट यही तीन टिम विश्वकप छनोटमा पुगेका थिए ।विश्वकप छनोटमा भने नेपालले पूर्व विश्व विजेता वेष्ट इन्डिज र आयोजक जिम्बाव्वेसँगै समूह एमा छ । यस समूहमा नेदरल्याण्ड्स र अमेरिका पनि छन् ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । यी १० टिमबीच भारतमा हुने एकदिवसीय विश्वकपको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।जिम्बाव्वेमा खेल्दा नेपालले कीर्तिपुरको जस्तो ठूलो समर्थकको आवाज पाउनेछैन । जसले घरेलु मैदानमा युएई विरुद्ध ठूलो समर्थन गरेका थिए ।‘नेपालले हामीले पाएको समर्थन अविश्वसनीय थियो, अन्तिम खेलका लागि हामीसँग धेरै समर्थकहरु थिए ।

हामी त्यो भीडलाई मिस गर्न जाँदैछौं तर हामीलाई थाहा छ कि नेपालबाट उनीहरूले हामीलाई समर्थन गर्ने छन् । हामी जहाँ खेले पनि फरक पर्दैन, हामीलाई थाहा छ नेपाली जनता हामीसँग छन्, उनीहरू नेपालबाट हाम्रो लागि समर्थन गर्नेछन् ।’आसिफ शेखले आयरल्याण्ड विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा एन्डी म्याकब्रिनलाई रनआउट नगर्ने निर्णय गर्दा ठूलो प्रशंसा पाएका थिए र त्यसका लागि आईसीसी स्पीरिट अफ क्रिकेट अवार्ड २०२२ प्राप्त गरेका थिए ।

 

नेपाली टिममा आसिफसँगै उनका दाइ अलराउण्डर आरिफ शेखसमेत छन् ।

प्रशिक्षक देशाईको प्रसंशा

आसिफले मुख्य प्रशिक्षक मोन्टी देशाईले खेलाडीहरुलाई उत्प्रेरित गरेको भन्दै प्रसंशा पनि गरेका छन् ।देशाईकै प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो भने एसीसी प्रिमियर कप जित्दै एसिया कपमा पनि छनोट भएको छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।‘देशाई कोचको रूपमा आएको दिन हामी सँगै बस्यौं,’ शेख सम्झन्छन्, ‘हामीसँग भेट भयो र उहाँले भन्नुभयो कि हामी १२ मध्ये १० खेल जित्नेछौं र त्यसपछि हामीले ११ खेल जित्यौं ।

यो उहाँको हामीमा विश्वास थियो ।’एसिया कपमा छनोट हुनुअघि पनि देशाईले भारत र पाकिस्तानसँग हामीले खेल्ने छौं भनेर भनेको उनले स्मरण गरे । ‘उहाँ अद्भुत हुनुहुन्छ, उहाँले हामीसँग कडा मेहनत गर्दै हुनुहुन्छ र हामीलाई विश्वास दिलाउनुहुन्छ कि हामी हरेक खेल जित्न सक्छौं ।’नेपालले अहिलेसम्म आईसीसी पुरुष एकदिवसीय विश्वकप खेलेको छैन । नेपालले अहिलेसम्म खेलेको एक मात्र विश्वकप २०१४ को टी-२० विश्वकप हो ।

 

प्लेअर टु वाच

गुल्शन झाले २०२१ सेप्टेम्बरमा अमेरिका विरुद्ध ओडीआईमा डेब्यु गर्दा उनी विश्वकै तेस्रो कान्छा खेलाडी बनेका थिए । जतिखेर उनी १५ वर्ष २१२ दिनका थिए ।गुल्शनले नेपाललाई एसिया कप २०२३ मा छनोट गराउनका लागि युएई विरुद्ध फाइनलमा अविजित ६७ रनको महत्वपूर्ण पारी खेलेका थिए ।उक्त खेल नेपालले ७ विकेटले जित्दै एसिया कपमा छनोट भएको थियो ।

मुख्य खेलाडी रोहितकुमार पौडेल

 

ओडीआई र टी-२०आईमा गरी ६७ खेल खेलिसकेका रोहित भर्खर २० वर्षका मात्र भए भन्दा विश्वास नहुन सक्छ । उमेर २० वर्ष भए पनि कप्तानसमेत रहेका उनको प्रदर्शन र नेतृत्वदायी भूमिका जबरजस्त छ ।यदी नेपालले जिम्बाव्वेमा प्रतिस्पर्धात्मक स्कोर बनाउने भएमा कप्तान रोहित मह्तवपूर्ण बन्न सक्छन् ।

नेपालको खेल

नेपालले १८ जुनमा घरेलु टोली जिम्बाव्वेसँग विश्वकप छनोटको पहिलो खेल खेल्दैछ ।त्यसपछि नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस