विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १६ : ३९
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । शनिवार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । सर्लाही, झापा र उदयपुरमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली फिक्कल गाउँपालिका(६ बस्ने ३५ वर्षीय तेजकुमार राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–५ लेकुवापुलस्थित सडकमा बिआर ०१ बिएम २४२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक बह्रमपुरी गाउँपालिका–२ बस्ने २० वर्षीय रमेश ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालबन्दी स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

उता, झापाको मेचिनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ । हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।