आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १२ : ३५
आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

चीन । कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो । 

 

सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।  चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।   

 

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ । दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ । यसअघि सातामा ३ उठान हुँदा हवाई टिकट महँगो भएका कारण चिनियाँहरू नेपाल आउन अप्ठ्यारोमा परेका थिए । अत्यावश्यक काम भएका व्यक्ति मात्र नेपाल चीन आउने जाने गरेका थिए । 

 

चिनियाँ पर्यटकलाई नेपालमा सेवा दिँदै आएका युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले महामारीपछि पहिलोपटक दैनिक उडान भएपछि चिनियाँ पर्यटक बढ्ने बताए । उनले भने, आजदेखि हामी उत्साही भएका छौँ, नेपालमा अब चिनियाँ पर्यटक वृद्धि हुनेछ ।जुन महिनाको २२ देखि तीन दिन छुटी हुँदै छ । त्यसपछि जुलाई महिनामा चीनमा विश्वविद्यालयमा हुने ४० दिने छुट्टीका कारण चिनियाँहरू घुमफिरमा निस्कने छन् । 

यही जुन महिनाको २२ तारिक चीनको राष्ट्रिय पर्व ड्रागन बोड फेष्टिवल (त्वान वु चेइ) हुँदै छ । यो अवसरमा चीन सरकारले तीन दिनको सापटी छुटी दिँदै छ । यो तीन दिनको छुट्टीमा पनि चीनबाट नेपाल पर्यटन बढ्ने आशा गरिएको छ । 

पोखरामा ड्रागन फेटिस्वल

त्यसैबीच, नेपालका पर्यटन व्यवसायीहरुको पहलमा पर्यटकीय नगरी पोखरामा ड्रागन फेटिबल आयोजना गरिएको छ । चिनियाँ पर्यटकलाई आकर्षित गर्ने र पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको पर्यटन व्यवसायी सुदर्शन नेपालले रातोपाटीलाई जानकारी दिए । 

नेपाल घुम्न जाने पर्यटकहरूका लागि पोखरा प्रमुख गन्तव्य बनेको छ । साहसिक पर्यटनमा रमाउने चिनियाँहरू प्याराग्लाडिङग आदि यात्रा गर्नका लागि पोखरा जाने गर्दछन् ।

काठमाडौँ बेइजिङ सीधा उडान सुरु 

त्यसैबीच, नेपाल चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरले जुन महिनाको २४ तारिकदेखि सातामा एक दिन काठमाडौँदेखि चीनको राजधानी बेइजिङ्गसम्म सीधा उडान तालिका राखेको छ । 

हालका लागि सातामा एक उडान र यात्रुको चाप वृद्धि भएपछि उडान थप गर्दै जाने हिमालय एअरले जनाएको छ । एअरका चिनियाँ प्रतिनिधि लुसीका अनुसार हिमालय एअरले हालका लागि साताको प्रत्येक शनिवार काठमाडौँदेखि बेइजिङग काठमाडौँ सम्मको उडान गर्न लागेको हो । 

त्यसैगरी, चीनको सुछवान प्रान्तको राजधानी छेन्दुदेखि काठमाडौसम्म एअर चाइना  र सुछवान एअरले सातामा ३ उडान गर्दै आएको छ । जुलाई महिनादेखि एअर चाइनाले छेन्दुदेखि काठमाडौँसम्मको दैनिक उडान गर्ने भनिए पनि हालसम्म तालिका सार्वजनिक गरेको छैन । 

ल्हासा उडानका लागि पहल 

गत महिना नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनका आएको टोलीले काठमाडौँ–ल्हासा उडानका लागि तिब्बतस्थित चिनियाँ अधिकारीहरूसँग अनुरोध गरेका थिए । ल्हासा उडान हुँदा नेपालबाट कैलाश मानसरोवर यात्राका  लागि आउने पर्यटकहरूका लागि सुविधा हुने भन्दै नेपालले चीन सरकारसँग अनुरोध गरेको छ ।