सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : राजेन्द्र पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १२ : २९
सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन् । 

 

उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्टाइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्टाइएको भन्दै कुनै पनि अवस्थामा यो सह्य नहुने चेतावनी दिए ।  पूर्वमन्त्री समेत रहेका पाण्डेले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य हुन नसक्ने बताएका हुन् । यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको पाण्डेको भनाइ छ । 

 

‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’, पाण्डेको भनाइ छ ।  उनले आफू प्रतिपक्षको सांसद भएर नभई सत्ता पक्षकै भएर पनि यहीँ स्थितिमा यो बजेट पास हुन नसक्ने बताए । 

 

‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा । यसरी बजेट विनियोजन भएको छ ।

आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन’, पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस