माओवादीको नयाँ भातृ संगठन रिटर्नी सेन्टर भेलाको तयारी पुरा

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, ११ : ४८
माओवादीको नयाँ भातृ संगठन रिटर्नी सेन्टर भेलाको तयारी पुरा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको नयाँ भातृ संगठनको रुपमा रहेको रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । विदेशबाट फर्किएर आएका युवाहरुलाई संगठित गर्ने उदेश्यले रिटर्नी सेन्टर भातृ संगठन बनाएको हो । प्रधानमन्त्री प्रचण्डले देशैभरबाट आएका प्रतिनिधि र प्रयवेक्षकको भेलालाई शुक्रबार दिउँसो २ बजे कोटेश्वरको एक पार्टी प्यालेसमा उद्घाटन गर्ने भएका छन् ।

 

कर्णाली र गण्डकीका माथिल्लो क्षेत्रका जिल्लाका एकाध प्रतिनिधिबाहेक सबै काठमाडौं आइसकेको नेता देवेन्द्र तुम्बाहाम्फेले बताए । ‘कर्णाली र गण्डकीका ५/६ जिल्लाबाट प्रतिनिधि आउन बाँकी छ  । नभए सबै जिल्लाबाट प्रतिनिधि र प्रयवेक्षक आइसक्नुभएको छ’ तुम्बाहाम्फेले भने, ‘शुक्रबार प्रधानमन्त्री ज्यूले दिउँसो २ बजे उद्घाटन गरेपछि तदर्थ समिति बनाएर एउटा कमिटी बनाउँछौं ।’

 

रिटर्नी सेन्टरलाई प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, संगठन विभाग प्रमुख जनार्दन शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय भेलामा महानगरबाट ३ जना, उपमहानगरबाट २ जना नगरपालिका र गाउँपालिकाबाट १÷१ जना प्रतिनिधिको रुपमा उपस्थित हुने भएका छन् । 

 

रिटर्नी सेन्टरको १५ जनादेखि १७ जना पदाधिकारी बनाउने तयारी छ । जसको अध्यक्षमा देवेन्द्र तुम्बाहाम्फे वा हेमन्त पौडेलमध्ये एक जना अध्यक्ष अर्का वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । अरु यसरी नै क्रमशः पदाधिकारी बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस