पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्यान्डका सिनेट अध्यक्ष ग्रोश्कीबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १५ : ५१
पूर्व परराष्ट्रमन्त्री खड्का र पोल्यान्डका सिनेट अध्यक्ष ग्रोश्कीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा.नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन् । प्रतिनिधिसभा सांसद समेत रहेका खड्काले पोल्यान्डको राष्ट्रियसभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्की तथा उद्योग व्यापार सङ्घका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

खड्काकाअनुसार भेटवार्तामा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशबीचको सम्बन्धलाई घनीभूत बनाएर लैजाने विषयमा छलफल भएको छ । साथै व्यापार, पर्यटन, विदेशी लगानी र विद्यार्थीहरूलाई पहिला दिँदै आएको छात्रवृत्ति पुनः सुरु गर्ने पूर्व परराष्ट्र मन्त्री खड्काले आग्रह गरेका थिए ।

सन् १९७५ मा स्थापना भएको पोल्यान्डको दूतावास पुनः सुरु गर्ने विषयमा कुराकानी भएको खड्काले बताए । त्यस्तै खड्काले पोल्यान्डको उद्योग तथा व्यापार सङ्घका प्रतिनिधि र पदाधिकारीसँगको भेटमा नेपाल र पोल्याण्डबीच व्यापार र लगानी बढाउनेबारे छलफल गरेका छन् ।

जवाफमा उनीहरुले भारत र अन्य दक्षिण एसियाली मुलुकहरूसँग व्यापार र लगानी बढ्दै गएको सन्दर्भमा अब नेपालमा पनि आफूहरू यही वर्ष आउन सक्ने र नेपालका उद्योगी र व्यापारीसँग छलफल गर्ने बताएका छन् । उक्त भेटको अवसरमा पोल्यान्डको सिनेटको अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक तथा पोल्यान्डका लागि नेपालका वाणिज्य दूत डा.बोधराज सुवेदी र एनआरएन पोल्यान्डका महिला विभाग अध्यक्ष डा.एलिना सुवेदी पोख्रेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस