एसियन कप छनोट : नेपाल र म्यान्मार भिड्दै

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, ११ : ४८
एसियन कप छनोट : नेपाल र म्यान्मार भिड्दै

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले आज (मंगलवार) साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दै  छ । नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे शुरू हुनेछ । नेपाल छनोटको समूह ‘बी’मा रहेको छ ।

नेपालको समूहमा चीन, म्यान्मार र चाइनिज ताइपेइ छन् ।नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

 

नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए । उनले भने, 'फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।'

नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न । 

यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस