सिक्किम पिकलबल च्याम्पियनसिपमा नेपालले जित्यो १५ पदक

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १० : ५४
सिक्किम पिकलबल च्याम्पियनसिपमा नेपालले जित्यो १५ पदक

काठमाडौं । भारतको सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल टुर्नामेन्टमा एक स्वर्ण पदक सहित १५ पदक जितेर नेपाली पिकलबल खेलाडीको टोली स्वदेश फर्किएका छन्। भारतको नेशनल टुर्नामेन्ट भएतापनी नेपालीटोली पाहुना टोलीका रुपमा सहभागी खेलमा भारतका १० वटा प्रान्तका खेलाडीहरुको सहभागीता रहेको थियो। 

नेपालको तर्फबाट पुरुष सिङ्गलतर्फ कुमार प्रधानले गुजरातका खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका छन्। प्रधान नेपालीटोलीका प्रमुख प्रशिक्षक समेत हुन्।  यसैगरी महिला सिङ्गल र डबल्सगरी जर्जिया चौधरी ३ सिल्भर, स्वस्तिका महर्जन १ शिल्भर र २ ब्राउन्ज र प्रजुना अधिकारीले १ सिल्भर र २ ब्राउन्ज मेडल जितेकी छन्। पुरुषतर्फ जनक फडेरा २ सिल्भर, किरण खनाल १ सिल्भर र सौरभ भण्डारीले १ ब्राउन्जगरी नेपाली टोलीले १५ मेडल जित्न सफल भएको छ। 

समुहचरणका अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालीटोली सेमिफाइनल सम्म खेलेको थियो। छोटो समयमा भारतीय टोलीले पिकलबल खेलमा गरेको प्रगतिलाई आत्मसात गर्दै नेपाली टोलीले भारतमा आयोजित विभिन्न टुर्नामेन्टमा सहभागी भएर खेलाडीको स्किल डेभलप गर्ने अवसरको रुपमा लिएको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताए। 

पिकलबल एशोसियसन नेपालले पिकलबलको विकास तथा प्रवर्द्धनको काम गरिरहेको छ। विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई पिकलबल खेलको प्रशिक्षण दिँदै नयाँ खेलाडी उत्पादनको कार्य समेत गरिरहेको छ। 

पछिल्लो समय विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस