कीर्तिमानी आरोही बुढामगरलाई कांग्रेस सभापति देउवाले गरे सम्मान​

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १६ : १६
कीर्तिमानी आरोही बुढामगरलाई कांग्रेस सभापति देउवाले गरे सम्मान​

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । ​धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई उनले धन्यवाद दिए ।

सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए । “सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र सान बढाउनुभएको छ ।

भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने ।उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरेका छन् । सो अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस