काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा बसिरहेको छ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई महत्त्वका साथ हेरिएको छ । पार्टी स्थायी समिति बैठक काठमाडौँमा बसेपनि पोलिटब्युरो बैठक कपिलवस्तुमै बसेको थियो । स्थायी समिति र पोलिटब्युरो बैठकपछि बसेको केन्द्रीय समिति बैठक जेठ १४ गतेसम्म चल्ने एक नेताले बताए ।
पार्टीको स्थायी समिति र पोलिटब्युरो बैठक सकियो । अब केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ’ ती नेताले भने, ‘कर्णजीत बुढाथोकी नेतृत्वको पार्टी एकता अनमोदनसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ ।’ नेकपा बैठकमा समाजवादी मोर्चा निर्माणका विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । गत मंगलबार विप्लव फेसबुक लाइभमा आएर अन्तर्क्रिया गरेका थिए ।
लाइभमा आएका अधिकांशले माओवादी केन्द्रसँग एकता गरेर जान सुझाव दिएका थिए । त्यस विषयलाई आफूले सकारात्मक रूपमा लिएपनि बैठकमा गम्भीर छलफल हुने उनले बताए । पछिल्लो समय विप्लव माओवादी केन्द्रसँग नजिकिएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र विप्लव नियमित सम्पर्कमा छन् । महरासँगको छलफलमा विप्लवले यो व्यवस्थामा तत्काल फर्किन नसक्ने अडान राखेका छन् । माओवादी केन्द्र र नेकपाबीच तत्काल पार्टी एकता हुने अवस्था भने देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १५ : ३८
लेखकबाट थप