बोलिभियामा सांसदहरूले गरे कुटाकुट

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १३ : २३
बोलिभियामा सांसदहरूले गरे कुटाकुट

एजेन्सी। बोलिभियाको संसदमा मंगलवार सत्र चलिरहेको बेलामा सांसदहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ । मन्त्री एडुआर्डो देल कास्तिलोले सान्ता क्रुज क्षेत्रका गभर्नर लुइस फर्नान्डो कामाचोलाई कैद गरिएको विषयमा संसद्समक्ष धारणा राख्दै गर्दा झैझगडा भएको हो । 

पक्राउ गरिनुको वैधताको प्रतिरक्षा गर्ने क्रममा देल कास्तिलोले कामाचोको दल क्रीमोसका सांसदहरूलाई कठोर आलोचना गर्दै तिनीहरू बोलिभियाली जनताको पैसा लुट्न आएका चोर हुन् भने । उनी बोल्दै गर्दा विपक्षी सांसदहरूले देशमा लोकतन्त्र मरेको भन्ने सन्देशसहितको प्लेकार्ड बोकेका थिए ।

उनीहरूले देल कास्तिलोलाई आतंकी मन्त्रीको संज्ञा दिइएको तस्वीर पनि बोकेका थिए । सरकारसमर्थक सांसदहरूले ती प्लेकार्ड खोस्न खोज्दा २० जना जति सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गरेका थिए । झगडामा कुनै पक्ष घाइते भएको छैन । बोलिभियामा राजनीतिक ध्रुवीकरण बढिरहेको संकेत यस घटनाले दिएको छ । 

प्रतिक्रिया दिनुहोस