शरणार्थी प्रकरणमा अदालतमा अभियोग पत्र दर्ता भएपनि अझै एक साता हिरासतमा रहन सक्ने

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १२ : ०९
शरणार्थी प्रकरणमा अदालतमा अभियोग पत्र दर्ता भएपनि अझै एक साता हिरासतमा रहन सक्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरू अझै कम्तीमा एक साता प्रहरी हिरासतमा रहने देखिएको  छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो ।

बुधबार अबेर मुद्दा दायर भएका कारण अदालतमा प्रतिवादीहरूको बयान सुरू हुन सकेन । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।अब शुक्रबारदेखि अदालतमा बयान सुरू हुनेछ । पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस