बहाल कर स्थानीय तहलाई मात्र बुझाउन काठमाडौँ महानगरपालिकाको आग्रह

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, ०७ : ३०
बहाल कर स्थानीय तहलाई मात्र बुझाउन काठमाडौँ महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले बहाल अङ्कमा लाग्ने बहाल कर दाखिला गर्न करदातालाई अनुरोध गरेको छ । 

महानगर क्षेत्रभित्र भएका बहाल कर तिर्नु पर्ने करदातालाई अनुरोध गर्दै विभागले भनेको छ, ‘संवैधानिक तथा कानुनी व्यवस्था अनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तह (काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र महानगरपालिका) को मात्र अधिकारमा छ ।

यस विषयमा द्विविधा हुनुपर्ने देखिँदैन । राज्यको मूल कानुन संविधान, संघीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) मा स्थानीय तहले बहाल कर लिने विषयमा कहीँ कतै व्यक्ति तथा संस्था भनि छुट््याएको छैन ।

नेपालको संविधान, २०७२, स्थानीय सरकार सरकार सञ्चालन ऐन, २०७४, काठमाडौ महानगरपालिका राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका २०७९ बमोजिम काठमाडौं महानगरपालिकालाई मात्र बुझाउनु पर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ । बहाल व्यवस्था गर्न काठमाडौं महानगरपालिकाको नगर सभाले नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ जारी गरेको छ ।

संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदाताहरुसँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस