बझाङ । बझाङको साईपाल गाउँपालिकाले अमेरिकी सेनाको बेसक्याम्प स्थापना नभएको स्पष्ट पारेको छ । विगत केही दिन देखि साईपाल गाउँपालिकामा रहेको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा प्रसारण तथा प्रकाशन भएका अभिव्यक्ति कपोकल्पित तथा भ्रामक रहेको गाउँपालिकाले बताएको हो ।
राजनीतिक विश्लेषक भरत दाहालले सञ्चारमाध्यममा साईपाल गाउँपालिकामा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको दाबी गरेका थिए । गाउँपालिका अध्यक्ष मानवीर बोहराले विज्ञप्ति जारी गर्दै अब उपरान्त यस्ता भ्रामक अभिव्यक्ति तथा टीकाटिप्पणी प्रकाशन गरेको पाइएमा आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम राष्ट्रको समग्र भूगोलको रक्षा गर्नु सरकारको कर्तव्य हो। नेपालको भौगोलिक क्षेत्रको सुरक्षाका विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो तहबाट अहम् भूमिका निर्वाह गर्दै आइरहेको छ । सोही सम्बन्धमा साईपाल गाउँपालिका वडा नं १ र २ को क्षेत्रभित्र रहेको माझा क्षेत्र साईपाल गाउँपालिकाको जडीबुटी सङ्कलन क्षेत्र रहेको र नियमित रूपमा स्थानीय बासिन्दाको आवतजावत भइरहने साथै गाउँपालिकाबाट समेत उक्त क्षेत्रमा नियमित अनुगमन भइरहेको हुँदा सो क्षेत्रमा सञ्चार माध्यममा उल्लेख भएबमोजिम कुनै पनि गतिविधि नभएको ब्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १२ : ०१
लेखकबाट थप